अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

नेपालका बाढी पहिरो पीडितका लागी अमेरिकामा राहत सङ्कलन सुरु

के सी शेर, अष्टिन २०७४ साउन २८ गते २०:३७ मा प्रकाशित

भारी वर्षाका कारण नेपालमा बाढि तथा पहिरोका कारण जन धनको क्षति भईरहेकोमा दुख व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली सङ्घ संस्थाहरूले राहत सङ्कलन सुरु गरेका छन् । अविरल वर्षाका कारण उत्पन्न प्रकोपका बाट पीडित नेपालीहरूका लागी सक्दो सहयोग गर्न अपिल सहित अमेरिकाका नेपाली संघसंस्थाहरुले राहत सङ्कलन अभियानलाई तीव्र पारेका हुन् ।

अमेरिकाका नेपालीहरूको साझा संस्था एनआरएन अमेरिका लगायत अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली सङ्घ संस्थाहरूले विभिन्न अनलाइन माध्यमबाट राहत सङ्कलन सुरु गरेका हुन् । बिशेषगरी एनआरएन अमेरिका सँगै नेपाली समाज टेक्सस, मधेसी एसोसियसन अमेरिका लगायतका नेपालीहरूका सङ्घ संस्थाहरू राहत सङ्कलनका लागि अघि बढेका छन् ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एक विज्ञप्ति जारी गर्दै जन्मभुमीमा परेको विपत्तिमा प्रवासी नेपालीहरूको साथको खाँचो रहेको बताउँदै प्रवास त्यसमा पनि अमेरिकाका नेपालीहरूले सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ । यस्तै नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले पनि पीडित नेपालीहरूलाई थोरै भए पनि राहत प्रदान गर्न अग्रसर भएकोले सबैले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यस्तै मधेसी एसोसिएसनका सुनिल शाहले पनि राहत सङ्कलन सुरु गर्दै सबैले सहयोग गर्न आग्रह गर्नुभएको छ । अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले राहत सङ्कलन सुरु गरे पनि नेपाल पठाउंदा एउटै माध्यमबाट पठाउंदा प्रभावकारी हुने बिचार पनि व्यक्त भइरहेका छन् । सबै सङ्घ संस्थाहरूले सङ्कलन गरेको राहत रकम एनआरएन अमेरिका मार्फत पीडित समक्ष पुर्याएमा प्रभावकारी हुने ग्रेटर अष्टिन नेपाली सोसाइटीका पूर्व अध्यक्ष गेहेन्द्र के सी बताउनुहुन्छ । भूकम्पका बेला करोडौं रकम अमेरिकामा सङ्कलन भए पनि आफ् आफ्नो तरिकाले नेपाल पठाउंदा देखिनेगरि प्रभावकारी नभएकोले राहत एकै माध्यमबाट पीडित समक्ष पुगेमा प्रभावकारी हुने के सी को भनाई छ ।

अविरल वर्षाका कारण पहिरोले पहाडी क्षेत्र तथा बाढीले तराई मधेसको क्षेत्र अति प्रभावित भएका छन् । वर्षा जारी रहेकोले क्षेतीको एकिन विवरण आउंन बाँकी छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले जारी गर्नुभएको विज्ञप्ति

सहयोगको लागि अपिल:
आदरणीय अमेरिकाबासी नेपाली बुवाआमा,
दाजुभाइ तथा दिदीबहिनीहरु,
सादर नमस्कार !

नेपालका विभिन्न स्थान, विशेष गरेर पूर्वी क्षेत्रमा आएको भारी वर्षाको कारण बाढी र पहिरोले धेरै धनजनको नोक्सानी भएको छ। तीन दर्जन भन्दा बढी हाम्रा आफन्तहरूले ज्यान गुमाउनु भएको छ र कयौँ हाम्रा आफन्तहरू बेपत्ता भएका छन्। कति घाइते भएका छन्। करोडौंको सार्वजनिक सम्पति र व्यक्तिगत सम्पति क्षति भएका छन्। हजारौँ हाम्रा आफन्तहरू प्रभावित भएका छन्। हवाई मार्ग, स्थल मार्ग र सरकारी कार्यालयहरू बन्द भएका छन्। मातृभूमिको यो आपतमा हामी प्रवासमा बसेका सबै प्रवासीहरू हाम्रा आफन्तहरूको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। जन्मभूमिको यो असैह्य वेदना र पीडामा हामी पनि हरतरहको सहयोग गर्न तयार रहेका छौँ। यसका लागि एन आर एन अमेरिकाले आवश्यक आर्थिक र भौतिक सहयोग गर्न आवश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आवश्यक प्रक्रिया चालिसकेको छ। हिमाल, पहाड र तराईमा आएको यो आपतमा तत्काल राहत उपलब्ध गराउन सबै प्रवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरूलाई एन आर एन अमेरिकाले आर्थिक श्रोत जुटाउने प्रक्रियामा सहयोग र सक्रिय सहभागिता जनाई दिन हुन सबैलाई सविनय अनुरोध गर्दछु।

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा, घाइतेहरूको उपचार, बेपत्ता भएका आफन्तहरूको खोजवीन र आपतमा परेकाहरूलाई उद्धार सामग्री र खाद्यान्न सहयोगमा नेपाल सरकार, सेना, प्रहरी, सङ्घ, संस्थाहरूको अहोरात्र प्रयासलाई हार्दिक आभार प्रकट गर्दछु र उहाँहरूको सतत प्रयासलाई साथ दिन र अवरोध नगरिदिन हुन विनम्र अनुरोध गर्दछु।
अन्त्यमा जन्मभूमिमा परेको आपतमा हामी प्रवासीहरू काँध, हात, साथ र सहयोग गर्न विश्वास दिलाउँदै, यो आपतमा परी स्वर्गबास हुनु हुने हाम्रा आफन्तहरूको चीर आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना समेत गर्दछु।
धन्यवाद

भवदिय,

डा केशव पौडेल
अध्यक्ष
एनआरएनए अमेरिका

सहयोग गर्न तलका लिंकमा जानुहोस

https://nrnnccusa.org/donation-appeal/

https://www.gofundme.com/2xehh-nepal-flood-victim-relief-fund
https://www.gofundme.com/help-flood-victims-in-nepal-2017

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू