अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

एनआरएन अमेरिकाद्धारा हेल्प डेस्क र हेल्प लाइन नम्बर सञ्चालन

के सी शेर, अष्टिन २०७४ फागुन ६ गते २२:५३ मा प्रकाशित

अष्टिन टेक्सस गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाले शनिवार टेक्ससको अष्टिनमा एक कार्यक्रमको आयोजना गरी हेल्प डेस्कको उद्घाटन गरेको छ । अमेरिकामा रहेका नेपालीहरूका समस्या समाधान गर्ने उद्देश्य सहित एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल तथा उपाध्यक्ष एवम् हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाले संयुक्त रूपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बरको सञ्चालनमा आएको घोषणा गर्नुभएको हो । अव देखी ८४४ ६७६ २८७२ नम्बर डायल गरेर प्राप्त हुने जानकारी अनुसार आफ्ना समस्या टिपाउन सकिन्छ । हेल्प डेस्क समिति संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले एनआरएनएले समाधान गर्न सक्ने समस्या भएमा एनआरएनले समाधान गर्ने र एनआरएन मार्फत समाधान नहुने समस्या आएको खण्डमा सरोकारवाला निकायसँग समन्वय गरेर समस्या समाधानको उपाय खोजिने बताउनुभयो ।

हेल्प डेस्कलाई प्रभावकारी बनाउन सबैपक्षहरु सँग समन्वय गरिरहेको र सबै च्याप्टरहरूमा च्याप्टर स्तरिय हेल्प डेस्क समिति बनाइने पनि उहाँले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आलोचनाका लागी आलोचना मात्रै नभएर राम्रो कामको प्रशंसा गर्नुपर्नेमा जोड दिँदै हेल्प डेस्क तथा टोल फ्री नम्बरको सुरुवात यस्तो राम्रो काम भएको बताउनुभयो । हेल्प डेस्कसँगै आइडी कार्ड, नेपाली भाषा पुस्तक, छात्रवृत्ति लगायतका प्रशंसायोग्य कार्यक्रमहरूलाई सबैको सहयोग अपरिहार्य भएको अध्यक्ष डा. पौडेलले बताउनुभयो ।

कार्यक्रमका अवसरमा एनआरएन अमेरिकाका महासचिव बि आर लामा, महिला संयोजक इन्दिरा त्रिपाठी, युवा संयोजक स्वराज खाती, प्रवक्ता विनोद तिवारी, बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, डा. अर्जुन बञ्जाडे, हेल्प डेस्क समितिका थलराज पन्त, सरोज सिग्देल, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपाने, पूर्व अध्यक्ष गेहेन्द्र के सी, जन सम्पर्क समिति अमेरिकाका उप सभापति सिपी पौडेल, डा. कमल अधिकारी, चन्द्रशेखर यादव, लगायतले हेल्प डेस्क कार्यक्रम प्रभावकारी भएमा एनआरएन प्रतिको जन विश्वास अझ बढ्दै जानेमा जोड दिँदै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा हेल्प डेस्कको लक्ष्य तथा उद्दृश्यका बारेमा हेल्प डेस्क समितिका सदस्य सचिव मणि नेपाली पनेरुले स्पष्ट पार्नुभएको थियो । एनआरएन टेक्सस च्याप्टर अध्यक्ष भानु खरेलले स्वागत मन्तव्य तथा महासचिव पदम ठकुराठीले सञ्चालन गरेको कार्यक्रममा एनआरएन आइसीसी सदस्य सरला कंडेल, नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका अध्यक्ष भोला आचार्य, हेम सरिता फाण्डेशनका संस्थापक हेम पाठक, वरिष्ठ संचारकर्मी नारायण पुरी, एनआरएन टेक्सस च्याप्टरका पूर्व अध्यक्ष उत्तम लामिछाने, एएनएका महासचिव बिजयराज भट्टराई, जन सम्पर्क समिति अमेरिकाका अष्टिन च्याप्टरका सभापति प्रेम पाण्डे, ८८४८ मिडिया हाउसका अध्यक्ष देवी भेटवाल, हेल्प डेस्क समितिका सदस्य तथा एनआरएन कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष वासुदेव खनाल लगायत विभिन्न क्षेत्रका एनआरएनहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय कलाकाहरुको नृत्य सँगै वरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीद्धारा निर्देशित नाटक नेपाल आमा समेत मंचन गरिएको थियो । कार्यक्रमको उद्घाटन फरक ढङ्गले गमलामा रहेको बिरुवालाई पानी सिँचाइ गरेर गरिएको थियो ।


फोटो: रबिन पिया

प्रतिक्रिया