अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

गीत

दीपक कथित २०७३ माघ १६ गते २१:५२ मा प्रकाशित

मेरो मुटु काट्ने कुनै छुरी हैन आँखा थियो
त्यै आँखामा मनसम्मै छुने गीतको भाखा थियो ।

आँखाले नै छाँट्न पाए जिन्दगीका दुःखहरू
पिर हैन फुल्थे होलान् यी मनमा सुखहरू
मेरै मन यस्तो हो कि उनकै आँखा त्यस्तो होला
थाहा थिएन आँखाले नै पार्ने चोट यस्तो होला ।

जे गर्दा नि सताउने मलाई तिनै आँखा थियो
त्यै आँखामा मनसम्मै छुने गीतको भाखा थियो ।

त्यै आँखामा मेरो खुसी फुल्छ कहिले रूवाउँछ
खुसी हुँदा मात्र हैन रिसाउँदा नि सुहाउँछ
आँखाबाटै संसार हेर्छन् मैले त्यहीँ संसार पाएँ
सके माया पाउँछु नत्र रेटिनलाई तयार भएँ ।

डुबाउन सक्ने मलाई गहिरो उनकै आँखा थियो
त्यै आँखामा मनसम्मै छुने गीतको भाखा थियो ।

प्रतिक्रिया