अव उर्लाबारीबाटै राहदानी-स्थानीय हर्षित

भूपेन्द्र तिम्सिना-पथरी, १ असोज

पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट अव राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनु पर्ने झन्झटबाट मुक्तीका लागि असोज २ गतेबाट राहदानी वितरण सहित कर संकलन केन्द्रका रुपमा समेत काम सुरु हुने कार्यालयका प्रमुख उपसचिव मुरारी वस्तीले बताउनु भएको छ ।

संघीयताको मर्मलाई पछ्याउँदै धेरै जनसंख्या रहेको इलाका तथा पहाडी क्षेत्रका मानिसहरुका लागि समेत ध्यानमा दिएर स्थानीयको विशेष पहलमा यसखाले सेवा थालिने उहाँले उल्लेख गर्नुभएको छ ।

पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरबन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविस यसको कार्य क्षेत्र हो ।

सेवा क्षेत्रको केन्द्रभागमा पर्ने उर्लाबारीबाटै राहदानी वितरणको काम थालिने भएपछि स्थानीय हर्षित भएको यस कामका पहलकर्ता मध्येका नेकपा एमालेका ९ नम्बर क्षेत्रीय अध्यक्ष गंगाप्रसाद वास्तोलाले बताउनु भएको छ । सो इलाका अन्तर्गत जिल्लाको ३० प्रतिशत बढी जनसंख्या रहेको छ ।

०४७ सालमा खडा भएको इलाका प्रशासनले नागरिकता वितरण, नावालकको परिचयपत्र, आदिवासी, जनजाती, दलित समुदाय प्रमाणित कागजात, राहदानी सिफारिस प्रदान गर्नुका साथै असुरक्षा सम्बन्धिको ठाडो उजुरी लिने गर्दै आएको छ ।

तेह्रथुममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर यता सरुवा हुनु भएका वस्तीले कार्यालयको कामलाई प्रभावकारी बनाउन आफ्नो अनुभवलाई स्थानीयसँगको सहकार्यमा अगाडि बढाउनु भएको छ ।

कार्यालयले शान्ति सुरक्षा तथा अन्य कार्यालयको समेत रेखदेख गर्ने जिम्मेवारीका साथ काम कारबाही व्यवस्थित गर्न आफु लागि परेको वस्तीको भनाई छ ।

Published on September 17, 2016 at 4:49 am

Loading...

यसमा तपाइको मत