अस्थायी र करारमा कार्यरत शिक्षकहरूले आफूहरुको रोजगारी खोस्न लागिएको भन्दै आन्दोलन शुरु गरेका छन् । आन्दोलन अन्तर्गत अस्थायी, करार शिक्षक संघर्ष समितिमा आवद्ध शिक्षकहरुले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएका छन् ।
रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरूलाई स्थायी गराउनुपर्ने अस्थायी शिक्षक संघर्ष समितिको माग रहेको छ । उनीहरुले आवश्यक कानुनी व्यवस्था मार्फत् देशभरका अस्थायी र करार शिक्षकहरुलाई स्थायी गर्नुपर्ने माग राखेका छन् ।
संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईँका अनुसार रोजगारीको ग्यारेन्टीका दवावमूलक कार्यक्रम अन्र्तगत सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलन सुरू गरिएको हो । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरूलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्नुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ ।
अस्थायी तथा करारमा रहेका शिक्षकहरूले आफूहरूलाई स्थायी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा यसअघि पनि पटकपटक ज्ञापनपत्र बुझाएका थिए । आफूहरूको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्ना लगायतका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ ।