अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

‘अध्यक्ष प्रचण्डको प्रतिवेदन पाँच सचिवालय सदस्यको साझा दस्तावेज’

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २०:३७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्कमल दाहालले पार्टी सचिवालयको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ । अध्यक्ष प्रचण्डले शुक्रवारको सचिवालय वैठकमा प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र अहिले खैलाबैला मच्चिरहेको छ । ओलीनिकट केही नेताहरुले अध्यक्ष दाहालको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरित रहेको भन्दै प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन् । उनीहरुले प्रतिवेदन फिर्ता नलिए भावी दिनमा नेकपाका कुनै बैठकहरु नहुने धम्कीसम्म दिएका छन् । एकजना मात्र अध्यक्षले राजनीतिक प्रतिवेदन ल्याउनु अमिल्दो रहेको उनीहरुको जिकिर छ ।

तर, कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालको तर्फबाट पेश भएको प्रतिवेदन आफूहरुको साझा भएको प्रष्टिकरण दिनुभएको छ ।

सचिवालय बैठकमै उपाध्यक्ष वामदेव गौतमले आफूहरुको समेत प्रतिनिधित्व गरी अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको बताउदै प्रस्तावमाथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने माग राख्नुभएको थियो ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताउनुभएको छ । अध्यक्ष ओली इत्तरका सचिवालयका पाँच जना नेताले नै सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे कार्यकारी अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थयो । उक्त प्रतिवेदन अध्ययनका लागि सचिवालयका सबै सदस्यहरुलाई उपलब्ध गराइएको छ भने सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक समेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू