अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

सात महिनामा पूरा हुने गरि शिक्षा मन्त्रालयद्धारा संश्लेषित पाठ्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०४ मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ ।बाँकी सात महिनामा शैक्षिक सत्र पूरा गर्ने गरि मन्त्रालयले मंगलवार संश्लेषित पाठ्यक्रम सार्वजनिक गरेको हो । कक्षा एकदेखि दश कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितीमा उक्त पाठ्यक्रम सार्वजनिक गरिएको हो । पाठ्यक्रम विकास केन्द्रका महा निर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार अब बाँकी रहेको सात महिनाभित्रमै यो वर्षको पठनपाठन पुरा हुने बताउनुभयो । वैशाख महिनाबाट शुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना संक्रमणका कारण अहिलेसम्म शुरु भएको छैन ।

आउने चैत महिनाभित्रमै शैक्षिक सत्र पुरा हुने गरि नयाँ पाठ्यक्रम तयार पारिएको दाहालले बताउनुभयो । मन्त्रालयले गत असारदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरेपनि प्रभावकारी देखिएको छैन । सबै विद्यार्थी सहभागी हुन नसके पनि असोज एक गतेबाट पनि बैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । अनलाइन, टेलिभिजन, रेडियो तथा पाठ्यपुस्तकको आधारमा बैकल्पिक पढाइ शुरु भएको छ ।

यसलाई प्रभावकारी बनाउन मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ ।संश्लेषित पाठ्यक्रमलाई दुई भागमा विभाजन गरिएको छ । जसमा विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्नेगरि विभाजन गरिएको दाहालले बताउनुभयो ।

विद्यार्थीलाई दिइने गृहकार्य, विभिन्न प्रकारका परियोजना काम लगायतलाई पनि पाठ्यक्रमसँग जोडिने दाहालको भनाइ छ । कार्यक्रममा शिक्षामन्त्री पोखरेलले जसरी भएपनि विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका आधारमा संश्लेषित पाठ्यक्रम जारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू