गोरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उहाँको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ को सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।
तर दुवै नगरपालिका स्थानीयले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीले तीन घण्टाको अवरोध हटाएपछि शव व्यवस्थापन टोलीले खाल्डो खनेको थियो तर फेरि स्थानीयको विरोधका कारण दिनभर शव व्यवस्थापन हुन सकेको छैन ।
तर अहिले बल प्रयोग गरेर स्थानीयलाई हटाउने र शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । मृतकको शव लैजान एम्बुलेन्स चालक पनि डराएका थिए । गोरखाका प्रमुख जिल्ला अधिकारी आफै जिल्ला अस्पताल गएर एम्बुलेन्स चालकलाई सम्झाइबुझाइ गरेपछि चालक पनि शव लैजान सहमत भएका हुन् ।