अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

बिबिसी नेपाली २०७८ असार ३ गते ७:१५ मा प्रकाशित

महामारीको बेला केही समयअघि अत्यावश्यक औषधि पारासिटामोलको अभाव भयो । मानिसहरूले घरमा जगेडा राख्न खोज्दा र मूल्य बढ्ने आशङ्काका कारण बजारमा पारासिटामोल अभाव भएको जानकारहरू बताउँछन् ।

सिटामोल भनिने यो ओषधि ‘अति आवश्यक औषधि’को सूचीमा पर्छ र अहिले अभाव नभएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन्।

तर औषधि उत्पादक सङ्घले विगत १४ वर्षदेखि २१ अत्यावश्यक औषधिको मूल्य समायोजन नभएको भन्दै यो अवस्था रहिरहे फेरि पारासिटामोलको अभाव हुन सक्ने बताएको छ।

पारासिटामोलको माग धेरै
औषधि व्यवस्था विभागका केसीका अनुसार नेपालमा सामान्य अवस्थामै वार्षिक साढे पाँच करोड पारासिटामोल खपत हुन्छ। तीमध्ये पाँच करोड ट्याब्लेट नेपालकै २७ कारखानाले उत्पादन गर्छन्।

कोभिड महामारीमा सङ्क्रमणको सुरुकै लक्षणमा आवश्यक पर्ने भएकोले पारासिटामोलको माग र खपत अझै बढी हुने गरेको उनले बताए। महामारीले पारासिटामोलको खपत बढेको र कच्चा पदार्थको मूल्य बढेर पनि सहज उपलब्ध नभएकोले घाटामा उपलब्ध गराइरहेको औषधि उत्पादक सङ्घको भनाइ छ। सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्री भन्छन्, “विगत दुई महिनायता हामीले करिब डेढ करोड सिटामोलका ट्याब्लेट बनाएर बजार पठाएका छौँ।” “तर अझै पनि समय सापेक्ष रूपमा मूल्य समायोजन भएन भने एक/डेढ महिनापछि चाहिँ बजारमा अभाव हुन्छ।”

पारासिटामोलको मूल्य
विसं २०६४ मा पारासिटामोल र जीवनजल लगायत २१ किसिमका औषधिहरूको मूल्य निर्धारण गरिएको थियो। त्यसपछि विसं २०७२ मा अन्य ९६ किसिमका औषधिको मूल्य समायोजन गरिएको बताइन्छ। चौध वर्षअगाडि मूल्य निर्धारण भएको औषधिको मूल्य समयानुकूल समायोजन हुनुपर्ने माग सङ्घको छ। यसबारे औषधि व्यवस्था विभागले उत्पादक सङ्घलगायत विभिन्न सरोकारवालासँग छलफल गरेर समय अलि सहज भएपछि त्यो प्रक्रियामा जाने बताएको छ।

विभागका केसीले भने, “अहिलेको विषम परिस्थितिमा जसरी पनि पारासिटामोल उपलब्ध गराउने र समय अनुकूल भएपछि तथ्य र वैज्ञानिक आधारमा कार्यविधिमा टेकेर मूल्य समायोजनको कुरा अगाडि बढाउँछौँ भनेका छौँ।”

नेपालभन्दा भारतमा महँगो पारासिटामोल
नेपालमा भन्दा पारासिटामोलको भाउ भारतमा महँगो पर्ने भएपछि पारासिटामोल तस्करी हुने आशङ्का गरिएको छ। नेपालमा सिटामोलको मूल्य प्रतिट्याब्लेट एक रुपैयाँ छ भने भारतमा पौने दुईदेखि सवा दुई रुपैयाँसम्म रहेको बताइन्छ। तर सीमावर्ती जिल्ला पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भने भारततर्फ तस्करी भएको नपाइएको बताएका छन्। घिमिरेले भने: “नेपालबाट भारत गएको पाइएको छैन बरु दुई/तीन वटा घटनामा भारतबाट नेपाल आएको पाइएको छ।”

मूल्य समायोजनबारे कार्यविधि बनेन
अत्यावश्यक औषधिको मूल्य अनावश्यक रूपमा नबढोस् भनेर सरकारले २०७२ सालमै मूल्य पारदर्शी र स्वचालित गराउन स्वास्थ्य मन्त्रालयको परामर्श परिषद्ले औषधि व्यवस्था विभागलाई कार्यविधि बनाउन निर्देशन दिएको थियो।

विभिन्न सरोकारवालाहरूसँग छलफलपछि कार्यविधि बनाएर एक वर्षभन्दा अघि नै मन्त्रालय पठाइएको विभागका अधिकारीहरू बताउँछन्। तर लामो समय प्रक्रिया अघि नबढेको उक्त कार्यविधि अहिले पुनः विभाग नै फर्किएको छ। केसी भन्छन्, “परामर्श परिषद्‌मा पठाइए पनि त्यो कार्यविधिमा सरोकारवालाले असन्तुष्टि जनाएपछि स्वीकृत हुन सकेन। हामी थप गृहकार्य गरिरहेका छौँ।”

#बिबिसी नेपाली

सम्बन्धित सामग्रीहरू