अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

कोरोनाभाइरस: नेपाल-भारत नाकामा कतै कडाइ, कतै बेवास्ता

बिबिसी नेपाली २०७६ चैत २ गते १२:३३ मा प्रकाशित

भारतले आइतबारदेखि लागु हुने गरी नेपालसँगको सीमामा चार वटा नाकाबाट मात्र यात्रुहरूको आवतजावत हुन दिने निर्णय गरेपछि तिनमा उच्च सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाल-भारत सीमाका विभिन्न नाका पुगेका बिबिसी संवाददाताहरूका अनुसार आवतजावत खुला रहेका नाकामा शरीरको तापक्रम नापेर मात्र मानिसहरूलाई आवतजावत गर्न दिइएको छ । त्यस्तै बन्द गरिएका भनिएका केही नाकामा पनि मानिसहरूको आवतजावत नरोकिएको पाइएको बिबिसी संवाददाताहरूले जनाएका छन्।

भारतको गृह मन्त्रालयले शनिवार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबिचका चार वटा नाकाबाट मात्र मानिसहरूको आवतजावत हुन दिने जनाएको थियो । उक्त सूचना अनुसार रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउनेछन् ।

भारतले तोकिएकाबाहेक नेपाल, बङ्गलादेश र म्यानमारसँगका अन्य नाका आइतबार र पाकिस्तानसँगका नाका सोमवारदेखि मानिसहरूका लागि बन्द गर्ने निर्णय गरेको हो । भारतमा अहिलेसम्म १०२ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।

के छ काँकडभिट्टा नाकाको अवस्था?
मानिसको आवतजावतका लागि खुला राखिएको नेपालको पूर्वी नाका काँकडभिट्टा पुगेका बिबिसीका झापा संवाददाता उमाकान्त खनालका अनुसार त्यहाँ दुवै पक्षले उच्च सतर्कता अपनाइएको पाइएको छ।

भारतबाट नेपाल आउँदा र नेपालबाट भारत जाँदा दुवै देशका सीमामा तापक्रम अनिवार्य नापेर मात्र आवागमन गराउन थालिएको छ । भारत तथा अन्य देशबाट आउने सामान ल्याउने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको छ । त्यसले गर्दा भन्सार कार्यालयका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरूको ज्वरो नाप्नका लागि व्यवस्था मिलाउन खटाउन लागिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् । भारतबाट नेपाल आउने मानिसहरूलाई अनिवार्य तापक्रम नाप्न लगाउन प्रहरी खटाइएको छ।

सम्बन्धित सामग्रीहरू