अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१ | Colorodo: 11:36

राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ

बीबीसी न्यूज नेपाली २०८१ चैत २८ गते ११:४९ मा प्रकाशित

चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार बिहान झापामा पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले उनलाई विमानमार्फत झापाबाट काठमान्डु ल्याएर अदालतमा पेस गरेको छ।

यसअघि प्रहरीले “तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको” बताएको थियो।

उपचारको प्रबन्धसहित १२ दिन हिरासतमा राख्न अनुमति
काठमान्डु जिल्ला अदालतले प्रसाई र उनका सहयोगी खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

“म्याद थपका लागि ल्याइएको थियो, त्यसमा दुर्गा प्रसाई र दीपक खड्काको हकमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ,” जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बिबिसीसँग भने।

अदालतमा दुर्गा प्रसाई बिरामी भएका भन्दै उनी र उनका तर्फबाट उनका कानुन व्यवसायीले उपचारको प्रबन्धको माग गरेका थिए। त्यसउपर पनि न्यायाधीश शिशिरराज ढकालले आदेश दिएको श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीशले सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गराउनका लागि अनुसन्धान गर्ने निकायलाई आदेश दिएका हुन्।

प्रसाईको परिवारलाई उद्धृत गर्दै उनी जनकमान्डर रहेको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पनि प्रसाई असममै प्रहरी नियन्त्रणमा पुगेको बताए। उनले असम प्रहरीसमक्ष “आत्मसमर्पण” गरेको दाबी पनि गरिएको छ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो।

दुई दिनअघि उनले आफू आत्मसमर्पण गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत एउटा भिडिओ सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले प्रसाईलाई गत असोज महिनामा पनि पक्राउ गरेको थियो। यो समाचार अशोक दाहालले बीबीसी न्यूज नेपालीमा लेखेका  छन।

सम्बन्धित सामग्रीहरू