अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

कोरोना भाइरस: सङ्क्रमण नियन्त्रणका पाँच प्रमाणित रणनीति

बिबिसी नेपाली २०७६ चैत २८ गते २३:१५ मा प्रकाशित

कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन् । उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन् । रोगको नयाँ केन्द्र विन्दु युरोप बनेको छ । ल्याटीन अमेरिका, मध्यपूर्व र अमेरिकामा दिनहुँ सङ्क्रमणको दर बढ्दो छ । तर केही देशहरू कोरोनाभाइरसको अप्रत्याशित विस्तार रोकथाम गर्न सफल देखिएका छन् ।

रोग सुरु भएको चीनसँग भौगोलिक रूपमा नजिक भए पनि केही एशियाली देशहरूले कोभिड-१९ को सङ्क्रमण दरलाई नियन्त्रणमा लिने कामको अगुवाइ गरिरहेका छन्।

अमेरिकास्थित जोन्स हप्किन्स् विश्वविद्यालयका सङ्क्रमण रोग विज्ञ टोल्बर्ट न्यानस्वाहले प्रकोप नियन्त्रण गर्न सफल उपायहरू अपनाएका देशहरू रहेको र उनीहरूबाट सिक्नुपर्ने बताएका छन् । उनले भने, “मैले चीनको मात्र कुरा गरिरहेको छैन, जहाँ आक्रामक उपायहरू अवलम्बन गर्दा सङ्क्रमितको सङ्ख्या घट्यो, जुन अन्य प्रजातान्त्रिक देशहरूलाई लागु गर्न सजिलो रहेन।”

“अन्य देशहरूले सफलतापूर्वक फरक कदम रोजे जुन अहिले पनि प्रभावकारी छ।” उदाहरणका निम्ति चीनको छिमेकी ताइवान हो । करिब दुई करोड ३६ लाख जनसङ्ख्या रहेको उक्त देशमा ३८२ जना सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ७५ लाख जनसङ्ख्या रहेको हङ्‌कङमा हालसम्म ९९० जनामा सङ्क्रमण र चारजनाको मृत्यु भएको तथ्याङ्क थियो । नजिकै १२ करोड जनसङ्ख्या रहेको जापानमा हालसम्म ५,५३० जना सङ्क्रमित भेटिएका छन् जबकी दक्षिण कोरियामा त्यो सङ्ख्या १०,४५० पुगेको छ । तर दुवै मुलुकमा पछिल्ला साता सङ्क्रमण र मृत्युको दर घटेको छ ।

न्यानस्वाहका अनुसार यी देशहरू कोरोनाभाइरसको बिस्तारलाई नियन्त्रणमा सफल भएका छन् किन कि उनीहरूले मौलिक प्रभावकारी उपायहरू तीव्र गतिमा लागु गरेका हुन् ।

यी हुन् अति प्रभावकारी कदमहरू:

१. परीक्षण, परीक्षण र फेरि पनि परीक्षण
बीबीसीले परामर्श लिएका विज्ञहरू र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ सुरुमै पहिचान गर्नु नै प्रकोप बिस्तारलाई नियन्त्रणमा लिने आधारभूत उपाए भएकोमा सहमत छन्। न्यानस्वाह भन्छन्, “कति मानिस प्रभावित छन् भन्ने कुरा जानकारी नहुँदासम्म भाइरसको वास्तविक प्रभाव थाहा पाउन वा आवश्यक कदम उठाउन सकिन्न।” अमेरिकाको टेम्पल विश्वविद्यालयमा सङ्क्रमण रोगका प्राध्यापक क्रिस जोनसन सहमत छिन्। न्यास्वाहका अनुसार जुन देशहरू परीक्षणमा भर परे, त्यहाँ नयाँ सङ्क्रमितको सङ्ख्या तल झरेको देखिएको छ, र जुन देशहरू परीक्षणको विधिमा जोड दिएनन् त्यहाँ सङ्क्रमितको सङ्ख्या निकै बढेको देखिन्छ।

उनले बीबीसीलाई भने, “दक्षिण कोरियाले दैनिक १०,००० नमुना परीक्षण गरेको छ। त्यसको अर्थ सुरुमा अमेरिकाले महिनाभरीमा गरेको परीक्षणभन्दा बढी उसले दुई दिनमा गरेको थियो।” डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस प्रकोपको ‘विस्तार रोक्ने अचुक उपाय’ लक्षण भएकाहरूको परीक्षण भएको बताउँछन्। “हाम्रो साधारण सन्देश सबै देशलाई – परीक्षण, परीक्षण, परीक्षण”, उनले हालै पत्रकार सम्मेलनमा भनेका थिए, “सबै देशहरूले सबै शङ्कास्पद व्यक्तिको परीक्षण गर्न सक्नुपर्छ, उनीहरू आँखा चिम्लिएर महामारीसँग लड्न सक्दैनन्।” उनले अति गम्भीर लक्षण भएकाहरूको मात्र परीक्षण गरिने विषयमा चेतावनी दिँदै त्यसबाट आउने तथ्याङ्क अविश्वसनीय हुने र त्यो अभ्यासले सामान्य लक्षण भएकाहरूबाट भाइरसको लगातार विस्तार हुने कुरालाई बल दिने बताए।

२. सङ्क्रमितलाई एक्ल्याउने
प्राध्यापक जोनसन भन्छिन्, “दक्षिण कोरिया र चीनले आफ्ना नागरिकको पहिचान र परीक्षण गरेर उनीहरूलाई एक्लै राख्ने काम निकै राम्रो गरेका छन्।” उनका भनाइमा परीक्षणहरूले बिरामीलाई एक्लाउन सघाउने र भाइरसको विस्तार हुनबाट जोगाउने मात्र होइन सुरुवाती चरणमा रहेका सम्भावित नयाँ सङ्क्रमितहरूको पहिचानमा पनि सहयोग गर्छ। जोनसनका अनुसार नयाँ सम्भावित सङ्क्रमित पत्ता लगाउन चिनियाँ अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन् र सङ्क्रमितको सङ्ख्या उत्साहजनक रूपमा कम हुनुका पछाडि त्यो पनि एउटा कारण हुनसक्छ। उनले भनिन्, “उच्च ज्वरो आएका बिरामी ज्वरोको क्लिनिकमा पठाइए फ्लू वा कोभिड-१९ को परीक्षण गरिन्छ। यदि परीक्षणबाट सङ्क्रमण पुष्टि भयो भने परिवारमा नसरोस् भनेर उनीहरूलाई ‘क्वारन्टीन होटल’ भनिने स्थानमा एक्ल्याए राखिन्छ।”

ताइवान, सिङ्गापुर र हङ्‌कङले अर्को बाटो अवलम्बन गरे। त्यहाँ शङ्कास्पद बिरामीलाई घरभित्र पनि एक्याएर राखियो र त्यो नियम अवज्ञा गर्नेलाई तीन हजार अमेरिकी डलर जरिवानाको प्रावधान घोषणा गरियो। न्यानस्वाहका अनुसार उक्त दुवै रणनीतिको मुख्य लक्ष्य सङ्क्रमित वा सम्भावित सङ्क्रमितको पहिचान गर्नु र पत्ता लगाउनु हो। उनले ताइवान र सिङ्गापुरमा सङ्क्रमितसँग सम्पर्कमा पुगेकाहरूलाई पहिचान गर्ने रणनीति अङ्गालिएको र सङ्क्रमितहरूसँगको कुराकानीका आधारमा यात्रा विवरण तथा सुरक्षा क्यामेराको सहायता लिएर त्यसो गरिएको बताए। उनले भने, “मार्च १२ मा हङ्‌कङमा ४४५ जना सङ्क्रमित थिए तर सम्भावित सङ्क्रमित पत्ता लगाउन उनीहरू सबैसँग सम्पर्कमा आएका १४,९०० को परीक्षण गरियो र १९ जना सङ्क्रित भेटिए।”

३. तयारी र तीव्र कदम
इबोलाको रोकथाममा पश्चिम अफ्रिकामा काम गरेका न्यानस्वाहले सङ्क्रमण समुदायमा पुग्नुअघि छिट्टो काम गर्नु नै भाइरस नियन्त्रणका आधारभूत तरिकाहरूमध्ये एक हो। उनी भन्छन्, “ताइवान र सिङ्गापुरजस्ता देशहरूले नयाँ सङ्क्रमितको पहिचान र उनीहरूलाई अलग्गै राख्ने द्रुत काम नै सङ्क्रमण विस्तार नियन्त्रणमा निर्णायक कदम भएको देखाएका छन्।” अमेरिकी मेडिकल एशोसियसनको हालसालै प्रकाशित जर्नलको एउटा लेखले ताइवानको सफलतामा उक्त टापुमा गरिएको तत्कालीन तयारी र सन् २००३ मा महामारी नियन्त्रणको निम्ति बनाइएको कमान्ड कन्ट्रोल अर्थात् एकीकृत संयन्त्रको पनि भूमिका रहेको औंल्याएको छ।

सार्सको महामारीपछि बनाइएको उक्त संयन्त्रमा विभिन्न सरकारी निकाय र अनुसन्धान संस्थाहरू छन् र त्यसयता उसले कैयौँ अध्ययन र अभ्यास गरेको छ। न्यानस्वाह भन्छन्, “प्रकोपको सुरु चरणमै कामको निम्ति तयार हुनु र छिट्टै रोकथाममा उत्रिनु महत्त्वपूर्ण पक्ष हुन्। युरोप र अमेरिकामा हामीले उनीहरू ढिलो तयार भएको मात्र होइन कि सुस्त गतिमा काममा उत्रिएको देख्यौँ।” ज्यानुअरी महिनाको बीचमा मानिसबाट मानिसमा भाइरस सरेको पुष्टि हुनुअघि नै ताइवानले प्रकोप सुरु भएको चीनको वुहानबाट पुगेका सबै यात्रुलाई स्वास्थ्यसम्बन्धी सोधपुछ सुरु गरिसकेको थियो। हङ्‌कङले बन्दरगाहका प्रवेश विन्दुहरूमा ज्वरो नाप्ने यन्त्र ज्यानुअरी ३ बाटै सञ्चालनमा ल्याइसकेको थियो। त्यससँगै त्यहाँ १४ जना पर्यटकलाई क्वारन्टीनमा राखियो। चिकित्सकहरूलाई वुहान क्षेत्रबाट हालसालै यात्रा गरेका र स्वासप्रश्वास समस्याको लक्षण रहेका वा ज्वरोका बिरामीबारे सूचना दिन निर्देशन दिइएको थियो। न्यानस्वाहका अनुसार त्यहाँ समयमै चालिएको कदम नै निर्णायक बन्यो।

४. सामाजिक दूरी
न्यानस्वाह भन्छन्, “एकपटक रोग तपाईँको देशभित्र पसिसकेको छ भने नियन्त्रणका उपाय लामो समयका निम्ति प्रभावकारी हुँदैनन्।” त्यसपछि मानिसहरूलाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी बाटो भनेको हङ्‌कङ र ताइवानले गरे जस्तो सामाजिक दूरी बनाउने काम कार्यान्वयन गर्नु नै हो। हङ्‌कङले ज्यानुअरी महिनाको अन्त्यदेखि सबै सामाजिक समारोह रद्द, स्कूलहरू बन्द र घरबाटै काम गर्न मानिसहरूलाई आग्रह गर्‍यो। द स्ट्रेटस् टाइम्स पत्रिकाका अनुसार सिङ्गापुरले स्कूल खुला राख्ने निर्णय गर्‍यो तर दिनहुँ विद्यार्थी र त्यहाँका कर्मचारीलाई निगरानी गर्ने र परीक्षण गर्ने काम जारी राख्यो।

५. सरसफाइलाई प्रोत्साहन
डब्ल्यूएचओका भनाइमा सङ्क्रमणबाट जोगिन नियमित रूपमा हात धुन र सफा रहन अत्यावश्यक हुन्छ। न्यानस्वाह भन्छन्, “कैयौँ एशियाली देशहरूले सन् २००३ को सार्स महामारीबाट सिकिसकेका थिए। ती देशहरूलाई सरसफाइले मानिसहरूलाई बिरामी हुन नदिने र अरूबाट सङ्क्रमण सर्नबाट जोगाउने कुरा थाहा छ।” सिंगापुर, हङ्‌कङ र ताइवानजस्ता देशहरूका सडकहरूमा मानिसहरूलाई प्रयोग गर्न दिनका निम्ति ब्याक्टेरिया मार्ने औषधी पाइने केन्द्रहरू खडा गरिएका थिए र व्यापक रूपमा मास्क लगाइन्छ। मास्क रोग सर्नबाट सधैँ जोगाउनका निम्ति प्रभावकारी नहुन सक्छ त्यसले खोकी वा हाछ्युँबाट सर्ने खतरा भने कम गर्छ।

सम्बन्धित सामग्रीहरू