अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

उपनिर्वाचन : सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने

बिआरटीनेपाल २०८० चैत १४ गते ७:२८ मा प्रकाशित

वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा चुनाव हुँदैछ ।

सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङमा जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।नेकपा एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शनिवार नाम टुंगो लगाउने बताएको छ ।

कांग्रेस र माओवादीले उम्मेदवार चयन गर्न बाँकी छ । कांग्रेसले इलाम–२ मा यसअघि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका डम्बर खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेको नेताहरुले बताएका छन् ।इलाम–२ मा पत्रकार समेत रहेका मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मिलनलाई आफ्नो पार्टीको उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गरिरहेको छ ।

इलाम–२ मा प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका संयोजक डेकेन्द्र सिंह लिम्बुले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई जिताउन धरानका मेयर हर्क साम्पाङले पनि अभियान शुरु गर्नुभएको छ । ३२ वर्षका मिलन र ३५ वर्षका सुहाङको उम्मेदवारी घोषणा र पहिचानवादीको सशक्त अभियानका कारण इलाम–२ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू