अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित, नेटोले निहुँ खोजे आणविक हतियार प्रयोग गर्ने चेतावनी

बिआरटीनेपाल २०८० चैत ५ गते ६:४३ मा प्रकाशित

भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी हुनुभएको रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।पुटिनले कुल मतको ८७ प्रतिशत मत प्राप्त गर्नुभएकाे आयोगले दाबी गरेको छ । चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको र पुटिनले ८० लाख मत प्राप्त गर्नुभएकाे खबरमा उल्लेख छ ।

पश्चिमा देशहरूले भने पुटिनको निरङ्कुशताका कारण विपक्षीलाई उम्मेदवार बन्न नदिएको र अहिले प्रतिस्पर्धी भनिएकाहरू पुटिनकै नजिकका व्यक्ति भएको आरोप लगाएका छन् । अमेरिकाले चुनावलाई हास्यास्पद र नाटकको संज्ञा दिएको छ । जर्मनीले यो चुनावलाई सेन्सरशिप, दमन र हिंसाको बीचमा प्रोक्सी चुनाव भनेको छ । यस्तै बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको चुनावको निन्दा गर्दै यसलाई अवैध भन्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहहरूले नाटक गरेको आरोप लगाउनुभएको छ ।

तर चुनाव जितेपछि पत्रकार सम्मेलन गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरूको लोकतन्त्रभन्दा रुसको लोकतन्त्र र चुनाव धेरै विश्वसनीय रहेको बताउनुभएको छ । ‘यो चुनाव पारदर्शी र पूर्णरूपमा सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ’, पुटिनले भन्नुभएको छ ।  उहाँले युक्रेनमाथिको आक्रमण नरोकिने र नेटोले रुसविरुद्ध कुनै कदम चालेमा आणविक हतियारको प्रयोग हुन सक्ने चेतावनी दोहोर्‍याउनुभएको छ । पत्रकारको एक प्रश्नमा चीनको प्रशंसा गर्नुभएका पुटिनले ताइवान चीनकै भूभाग भएको बताउनुभयो । रुसमा तीन दिनसम्म चलेको मतदान रुसले कब्जा गरेको युक्रेनी क्षेत्र जापोरिझिया, खेरसन, डोनेट्स्क र लुहानस्कमा पनि भएको थियो । यस्तै विदेशका सबै दूतावास र कुटनीतिक नियोगमा पनि अनलाइन भोटिङको व्यवस्था थियो ।

सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस इल्तसिन बिरामी परेपछि पुटिनलाई राष्ट्रपति बनाउनुभएको थियो । त्यसपछि सन् २००० देखि चार वर्षबाहेक पुटिन लगातार रुसको राष्ट्रपति हुनुहुन्छ । सन् २००८ देखि २०१२ सम्म भने उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । आलोचकहरूले उहाँलाई एक निरङ्कुश शासक भन्छन् । उहाँको विरोध गर्नेहरू कि त मारिने कि त जेलमा जानुपर्छ भनिन्छ ।७१ वर्षका पुटिन राजनीतिसँगै खेलकुदमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । कराँतेमा उहाँ ब्ल्याकबेल्ट खेलाडी हुनुहुन्छ, घोडचढीमा पनि उहाँको विशेष दख्खल छ । पाककलामा पनि पुटिनको दख्खल छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू