अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

व्यवसायीलाई त्रसित नबनाउन गृहमन्त्री र अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०८० फागुन २९ गते ६:०५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न अर्थमन्त्री र गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले आफूहरूलाई प्रधानमन्त्रीले व्यवसायीलाई त्रसित नबनाउन र मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।

मन्त्री पुनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न पनि उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो । आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन उहाँको व्यवसायीलाई आग्रह थियो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाईसँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनुभएन भन्नुभएको छ’, पुनले थप्नुभयो, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौँ कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाउनुभयो । यद्यपि पुनले राजश्व छलीमा भने सरकारले कडाइ गर्ने बताउनुभयो । तर, व्यवसायीसँगको समन्वयमै राजश्व छलीलाई नियन्त्रण गरिने भएकाले सहयोग गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू