अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता ५६.३ प्रतिशतले घट्यो, ६ महिनामा ६० अर्ब प्राप्त

बिआरटीनेपाल २०८० फागुन २४ गते ५:३६ मा प्रकाशित

नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता ५६.३ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा उक्त सहायता प्रतिबद्धता घटेको हो । २०८० साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा नेपालले मात्र ५९ अर्ब ९८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

चालु आर्थिक वर्षमा प्राप्त अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा २० अर्ब २८ करोड अनुदान सहायता र ३९ अर्ब ७० करोड रुपैयाँ ऋण सहायता रहेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशस् ३३.८ प्रतिशत र ६६.२ प्रतशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशस् १६.९ प्रतिशत र ८३.१ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता कार्तिकमा प्राप्त भएको छ । अर्थका अनुसार साउनमा १० अर्ब ६३ करोड रुपैयाँ, असोजमा तीन अर्ब १५ करोड २२ लाख रुपैयाँ, कार्तिकमा २८ अर्ब २२ करोड ५० लाख रुपैयाँ र मंसिरमा १७ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

अर्थले सार्वजनिक गरेको विवरण अनुसार भदौ र पुसमा कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छैन । कुल अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये सामाजिक क्षेत्र (शिक्षा र स्वास्थ्यसहित)मा ४२.६ प्रतिशत, ग्रामिण विकासमा २५.१ प्रतिशत, सार्वजनिक वित्तमा २२.२ प्रतिशत, वातावरण क्षेत्रमा ५.८ प्रतिशत र कृषि क्षेत्रमा ४.४ प्रतिशत रहेको अर्थले जनाएको छ ।

सामाजिक क्षेत्र (शिक्षा र स्वास्थ्यसहित) मा २५ अर्ब ५४ करोड रुपैयाँ, ग्रामिण विकासका क्षेत्रमा १५ अर्ब तीन करोड रुपैयाँ, सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा १३ अर्ब ३० करोड रुपैयाँ, वातावरण क्षेत्रमा तीन अर्ब ४५ करोड रुपैयाँ र कृषि क्षेत्रमा दुई अर्ब ६६ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू