अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

बङ्ग्लादेश चुनाव : ‘विपक्षी दलका ५ जना नेताकाे कारागारमा ज्यान गयाे’– बीएनपी

बिआरटीनेपाल २०८० मंसिर २५ गते ६:०७ मा प्रकाशित

बङ्गलादेशमा पछिल्लाे २ हप्तामा प्रमुख विपक्षी दलका ५ जना नेताकाे कारागारमा ज्यान गएकाे अधिकारी र आफन्तहरूले आइतवार बताएका छन् ।बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आउँदाे जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार गरेको छ । त्याे चुनावबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला ५ हप्तामा उसका सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बीएनपीको गिरफ्तारीको तथ्याङ्कलाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही समर्थक कार्यकर्ताको रिहाइको माग गर्न आइतवार मध्य ढाकामा जम्मा भएका थिए । गएकाे महिना न्युयोर्ककाे ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्‍यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई पक्राउ गरिएको अनुमान गरेको थियो । प्रहरीका अनुसार त्याे र्‍यालीपछि भएको हिंसामा १ प्रहरी अधिकारी र ५ सर्वसाधारणको ज्यान गएको तथा झन्डै ३ सय बसमा आगजनी भएको थियो । यद्यपि बीएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० जनाकाे ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गएकाे महिना प्रतिबन्ध लगाइएको थियो ।

बीएनपीले पछिल्ला २ हप्तामा हिरासतमा आफ्ना ५ जना नेताकाे ज्यान गएकाे गणनाा गरेको पार्टीका कानुन प्रमुख कैसर कमालले एएफपीलाई बताउनुभयो । ‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रव्यापी कारबाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू