अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

सी–पुटिन भेट : दुई देशबीचको सम्बन्धको प्रशंसा, युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा जोड

बिआरटीनेपाल २०८१ जेठ ३ गते ६:५५ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा सी र पुटिनले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरेका बीबीसीले जनाएको छ । दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धबारे पनि चर्चा भएको छ । चिनियाँ राष्ट्रपति सीले बेइजिङ र मस्कोबीच रुस–युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा सहमति भएको बताएका खबरमा उल्लेख छ । तर उहाँले यसबारेमा अन्य विवरण दिनुभएको छैन । गएको वर्ष चीनको शान्ति प्रस्तावको युक्रेन र उसका पश्चिमी सहयोगीहरूले आलोचना गरेका थिए ।

यस्तै रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको विषयमा मध्यस्थताका लागि चीनलाई धन्यवाद दिनुभएको बीबीसीले जनाएको छ । युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासप्रति रुस आभार रहेको उहाँले बताउनुभयो । चीन र रुसले द्विपक्षीय व्यापारको प्रशंसा गर्दै नयाँ सम्झौताको शृङ्खलामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।

युक्रेन युद्धका कारण पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसको मुख्य निर्यातकर्ता बनेको छ । चीनले अहिले रुसलाई कार, लत्ताकपडा, कच्चा पदार्थ पठाइरहेको छ । सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलर पुगेको चीनले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । चीनमाथि रुसलाई हतियार उपलब्ध गराएको अरोप पनि लाग्ने गरेको छ तर उसले यो आरोपको बारम्बार अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपतिमा पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा आज बिहान बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू