अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

अहिले नै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ। आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला फिँजाउनका लागि मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्ला मात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री प्रचण्डले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’ प्रधानमन्त्री प्रचण्डले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू