अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० कार्तिक ३० गते १५:३९ मा प्रकाशित

कोलोराडो । नेपालीहरूको दोस्रो महान् चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको सहर अरोरामा देउसी भैलो खेल्ने कार्यक्रम गत शुक्रवार स्थानिय चर्चमा सम्पन्न भएको छ । अरोरा तथा सेन्टिनियलबासी नेपालीभाषीको आयोजनामा नेपाली संस्कृतिक केन्द्रको सहयोगार्थ अरोरामा देउसी भैलो खेलिएको हो । मौलिक संस्कृति जोगाउनुका साथै सदस्यहरूबिच भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसर कार्यक्रमले दिएको जनाएको छ ।

अरोरा सेन्टिनियल नेपालीभाषी समाजद्वारा आयोजना गरिएको नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ सम्पन्न देउसी भैलो कार्यक्रमबाट ९ हजार ७ सय ३५ डलर ८८ सेन्टस सङ्कलन गरिएको छ । सङ्कलित रकम नेपाली घरको खातामा जम्मा गरिने छ ।

देउसी, भैलो कार्यक्रममा कोलोराडो अरोरा-सेन्टिनियल वरिपरि बसोबास गर्ने सबै समुदायका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित पुरुषहरू दौरा सुरुवाल, महिलाहरू साडी चोलो लगाएर सहभागी भएका थिए ।

एनआरएन अमेरिका केन्द्रीय सदस्य नवराज न्यौपानेको संयोजनमा मुल समिति गठन गरिएको थियो । प्रमुख अतिथि तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए भने संयोजक न्यौपानेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले उद्धेश्य र महत्वबारे प्रकाश पारेका थिए ।

देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरूले आ‒आफ्नो कला प्रस्तुत गरेका थिए । प्रस्तुति दिनेहरूमा अरुण गुरागाईको ब्यान्ड, उज्ज्वल सुनुवारले मोहिनी लाग्ला है बोलको गीत, मनी मास्केले हातै समाइ बोलको गित, रोशन दाहालले वर्षामा दिनमा लैलै र मायाको डोरिले बोलको गीत गाएका थिए भने इरिका अधिकारी, अन्जेल कार्की र रीतिका पौडेलले तिहारै आयो भन्ने बोलको गीतमा, सोफी पन्त र स्तुति सापकोटाले यो हो मेरो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । भैलो देउसीको संयोजन सविना प्रधान र गङ्गा चौलागाईंले गरेका थिए ।

अन्तमा कार्यक्रममा प्रस्तुति दिनेहरूलाई नेपाली घर अध्यक्ष जगदीश ढकाल, अनेसास कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौला, एनआरएन अमेरिका केन्द्रीय सदस्य नवराज न्यौपाने, समाजसेवीहरु रामप्रसाद श्रेष्ठ, गङ्गा चौलागाईं, राज ढुङ्गाना, कुमारजङ कार्की, अजय प्रधानले प्रमाण पत्र वितरण गरेका थिए । नेपाली घरका अध्यक्ष ढकालले वेलकम इभेन्टसका प्रतिभा ढकाल कार्की, आरती न्यौपाने, देबश्री बस्याल र सिलसिला थापा कार्कीलाई खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको समापन गङ्गा चौलागाइले गरेका थिए भने वेलकम इभेन्टसले कार्यक्रममा डेकोरेसन गरेको थियो । कार्यक्रमको सञ्चालन रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले गरेका थिए भने फोटो लिने काम प्रमोद भण्डारीले गरेका थिए । वीरेन्द्र सुवाल सिंहको डिजेमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने बिआरटिनेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

 

अन्य फोटोको लागि यो लिन्कमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया