अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

न्यू योर्क सिटी मेयरले नेपाली झन्डा फहराए

बिआरटिनेपाल संवाददाता, न्यूयोर्क २०८० असोज ५ गते २३:३१ मा प्रकाशित

न्यू योर्क सिटिका मेयर एरिक आडम्सले म्यानह्याटनस्थित बोलिङ ग्रिनमा नेपाली झन्डा फहराएका छन्।

नेपाली समुदायले पु¥याएको योगदानको कदर गर्दै उनले नेपालको गणतन्त्र दिवसको अबसर पारेर सेप्टेम्बर २० मा नेपाली झन्डा फहराएका हुन्। उनले नेपालीका लागि महत्त्व राख्ने नेपाली झन्डा फहराउन पाउँदा गर्व लागेको बताए। ‘न्यू योर्क सिटीको हिस्सा भएर तपाईँ नेपालीहरूले पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद छ,’ उनले भने, ‘अमेरिका विश्वमा यस्तो देश हो जसले तपाईँहरुलाई यहाँ बस्दा आफ्नो सम्पदा छाड्नुपर्छ भन्दैन । तपाईँले आफुलाई नेपाली अमेरिकन भनेर चिनाउन सक्नुहुन्छ।’

अमेरिकाका लागि नेपालका एक्टिङ कन्सुल जनरल विष्णु प्रसाद गौतमले न्यू योर्क सिटिका मेयरले गणतन्त्र दिवसको अबसर पारेर नेपाल झण्डा फहराउने ऐतिहासिक काम भएको बताए। उनले मेयर आडम्ससहित न्यू योर्क सिटीका उच्च अधिकारीहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे। त्यसका लागि आवश्यक प्रबन्ध गर्न सधैँ तयार रहेको पनि उनको भनाइ थियो। कार्यक्रममा एक्टिङ कन्सुल जनरल गौतमले मेयर आडम्सलाई नेपाली टोपी लगाइदिएर सम्मान गरेका थिए। साथै, उनले एक सिंगे गैँडाको सानो मूर्ति उपहार दिएका थिए।

बोलिङ ग्रिन एशोसियनका चेयरम्यान आर्थर पिकालोले यहाँ १९९६ देखि नियमित झन्डा फहराइन थालेको बताए। मेयर एरिक आडम्सले मात्र त्यहाँ ५० पटकभन्दा बढी विभिन्न देशका झन्डा फहराइ सकेका छन्। ‘नेपालको झन्डा भने पहिलो पटक फहराइन लागेको हो,’ उनले भने, ‘अर्को झन्डा नफराएसम्म करिब २ हप्ता नेपाली झन्डा अमेरिकी झन्डासँगै फहराउने छ।’ बलिङ ग्रिन झन्डा फहराउनका लागि अमेरिकाकै सबैभन्दा महत्त्वपूर्ण स्थान भएको उनको भनाइ छ। ‘यो झन्डा फराउने ऐतिहासिक ठाउँ हो र यहाँ इतिहासमा सबैभन्दा महत्त्वपूर्ण झन्डा फहराइएको छ,’ उनले भने, ‘नोभेम्बर २५, १९८३ मा जेनेरल जर्ज वासिङ्टनले बेलायतसँग विजय प्राप्त गरेपछि अमेरिकी स्वतन्त्रता र नयाँ राष्ट्र जन्मेको आधिकारिक घोषणा गर्न यहाँ झन्डा फहराएका थिए।’

अधिवक्ता खगेन्द्र जिसीले ३० वर्ष अघि बोलिङ ग्रिनदेखि २ ब्लक पर ल फर्म स्थापना गर्दा यहाँका मानिसले नेपाल र नेपाली नचिनेको स्मरण गर्दै भने, ‘अहिले यहाँ हामी नेपाली झन्डा फहराउँदै छौँ। यो गर्वको विषय हो।’

एसेम्ब्ली मेम्बर स्टिभन रागाले नेपालीको झन्डा फहराउनु नेपालीको मात्र नभएर सिङ्गो न्यू योर्कबासीका लागि सम्मानको विषय भएको भए । ‘नेपाली झन्डा फहराइनु नेपालीले यो देशका लागि गरेको योगदानको कदर हो,’ उनले भने ।

कार्यक्रममा माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका अध्यक्ष श्याम कार्की, एक्जेकेटिभ डाइरेक्टर श्रीया तुलाधर, एसेम्ब्ली काउन्सिल वुमन जुली वाङ, एसेम्बी मेम्बर जेनिफर राजकुमार, मेयर अफिसका अधिकारीहरूले धारणा राखेका थिए। कार्यक्रमको संयोजन माइनोरिटी इम्पावरमेन्ट नेटवर्कको अगुवाइमा भएको थियो जसमा किरात राई सोसाइटी अफ अमेरिका सहित कम्तीमा पाँच दर्जन नेपाली संघ संस्था सहभागी थिए। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र बाद्यबाजन प्रस्तुति गरिएको थियो।

प्रतिक्रिया