प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुहुने छ । नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री एनपी साउद, प्रधानमन्त्रीका राजनीति सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिवलगायत अधिकारीहरू सहभागी हुने कार्यक्रम छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र मन्त्री साउदको सचिवालयले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुुहुने छ । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाटै चीन भ्रमणमा जानुुहुनेछ ।