अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

एसिया कप खेल्न जाने राष्ट्रिय क्रिकेट टाेलीलाई राष्ट्रपति पौडेलकाे शुभकामना

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:४२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायतलाई बोलाएर राष्ट्रपति पौडेलले आज मङ्गलवार जितको शुभकामना दिनुभएको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल, नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलको भनाइ छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टिमका लागि थप उत्साहको विषय भएको भन्दै उहाँले सफलताको हार्दिक शुभकामना दिनुभएको हो ।नेपाली टोली आज राति १ बजे पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात् भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ुबीु मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिसकेको छ । घोषित नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू