अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

माओवादीले पनि केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने

बिआरटीनेपाल २०८० साउन १५ गते ४:४५ मा प्रकाशित

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो । यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । माओवादी सचिव शर्माले पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाइनेसमेत बताउनुभयो।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव शर्माले बताउनुभयो । उहाँले पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग रहेकोले पहिले समूहमा छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइने जानकारी दिनुभयो ।

त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताउनुभयो। त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि शर्माको भनाई छ । यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ । माओवादी केन्द्रीय समितिको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू