अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

मौसमी कामदार पठाउन श्रम स्वीकृति प्रदान भएको छैन, प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

बिआरटीनेपाल २०८० साउन १४ गते ७:०० मा प्रकाशित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको बताएको छ ।पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने प्रलोभन देखाइ ठगी भएको पाइएको भन्दै मन्त्रालय मौसमी कामदारको रूपमा कुनै पनि देशमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको प्रस्ट पारेको हो । पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने भन्दै ठगी बढेपछि मन्त्रालयले मौसमी कामदारको रूपमा जान कोही कसैलाई पनि पैसा नबुझाउन र कोही कसैले यस्तो प्रलोभन देखाएमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाउने भन्दै पछिल्लो समय रकम उठाउने र एजेण्टहरु फरार हुने क्रम बढ्दो छ । यस्तै वैदेशिक रोजगारीमा जान विभागबाट जारी श्रम स्वीकृति बाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा कुनै पनि देश नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।केही समय यता नेपाली नागरिकहरूलाई थाइल्याण्डबाट ट्राभल एडभाइजरी डकुमेन्ट मार्फत म्यानमार पुर्‍याई अलपत्र पार्ने र यातना दिने क्रम समेत बढेको छ ।

यसका साथै विभिन्न एजुकेसन कन्सल्टेन्सी तथा ट्राभल एजेन्सीहरुले समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने क्रम पछिल्लो समय बढेको छ । ट्राभल एजेन्सी र कन्सल्टेन्सीमार्फत सरकारले रोजगारीका लागि खुला नगरेका देशमा समेत नेपालीहरू पुगिरहेका छन् । वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूले मात्र पाउँछन् ।

वैधानिक म्यानपावर कम्पनीबाहेक अरू कोही कसैले वैदेशिक रोजगारीको प्रलोभन देखाएमा वैदेशिक रोजगार विभागमा, जिल्ला प्रशासन कार्यालयमा, आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा खबर गर्न र वैदेशिक रोजगारबारे जानकारी लिन मन्त्रालयले अनुरोध गरेको छ । यस्ता खबर श्रम कल सेन्टरमा ११४१ नम्बरमा, नजिकको प्रहरी कार्यालयमा वा श्रम तथा रोजगार कार्यालयहरूमा समेत दिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू