अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

एसिया कपअघि नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने

बिआरटीनेपाल २०८० साउन ५ गते ६:१८ मा प्रकाशित

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ । उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । अहिले उतै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने उनले बताए । राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ । एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ । विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’ मा छ । बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र श्रीर्ष दुई टिमले फाइनल खेल्नेछन् । हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह्य चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएको नेपालले युएई ‘ए’ लाई पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू