अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

बिआरटीनेपाल २०८० साउन ५ गते ६:१६ मा प्रकाशित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता महिला र पुरुष खेलाडीलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतले पदक विजेता महिला टोली कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोली दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन् । उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा संघले टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए ।

च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिष्पर्धा गरेका थिए । संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदकविजेतालाई पुरस्कार दिन ढिलाई भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडीलाई प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । टोलीकी व्यवस्थापक जुनु पुन मगरले आफूले पाएको पुरस्कार रकम १९ औं एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गर्नुभयो ।उक्त कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोईरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यको तर्पmबाट पनि यस्ता काम उचित समयमा हुनुपर्ने बताउनु भयो ।साथै कोईरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आम मानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

राज्य र आम समर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको र सोहीअनुरूप संघले काम गरिरहेको बारेमा आफू जानकार रहेको कोईरालाको भनाइ थियो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले ऐतिहासिक पदक विजेता नेपालीबीच भलिबल टोलीलाई बधाई दिनुभयो । आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउमा शहरमा हुने १९ औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोलीको पनि सहभागिता हुनेछन् । सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू