अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

युक्रेनमा निप्रो नदीको बाँधमा विष्फोट हुँदा हजारौं विस्थापित

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:२८ मा प्रकाशित

दक्षिणी युक्रेनस्थित रुसको नियन्त्रणमा रहेको एउटा विशाल निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित भएका छन् ।निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोटबाट भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न भएका छन् ।त्यहाँका बासिन्दालाई हतार हतारमा अन्यत्र सारिएको छ । युक्रेनी आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले एक हजार मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र करिब ४० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्न आवश्यक रहेको बताउनु भएको छ ।

रुसी आक्रमणका कारण सो बाँध फुटेको आरोप युक्रेनले लगाइरहँदा रुसले भने आरोप अस्वीकार गर्दै युक्रेनी सेनाको बमबारीबाट बाँध क्षतिग्रस्त भएको दाबी गरेको छ । बाँध भत्कने बित्तिकै युक्रेनमा आपतकालीन बैठक बसेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै यसबाट हुने क्षति न्युनिकरणका लागि राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउनुभएको थियो ।

यही बाँधको पानी युक्रेनको जापोरोजियामा रहेको आणविक उर्जा केन्द्रलाई चिस्यान गर्न प्रयोग हुँदै आएको थियो । रुसको नियन्त्रणमा रहेको क्राइमियाका जनताको पिउने पानी तथा सिंचाईको मुख्य आधार पनि यही बाँध रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू