अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

प्रेमोद्गार

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ चैत १८ गते ११:०१ मा प्रकाशित

सपना – सपनाभित्रै दृश्य नौलो सजाउँछिन्
बिपना – बिपनामा नै मन्दमुस्कान छाउँछिन्
कल्पना – प्रेमले मस्की मधुप्याला पिलाउँछिन्
कविता – कविता गाई रस चाख्न लगाउँछिन् ।१।

शैलजा – शिर तातेमा शीत छर्की हटाउँछिन्
निशा – आरामका निम्ति आई पर्दा लगाउँछिन्
चेतना – होसमा ल्याई आँखा खोल्न खटाउँछिन्
सविता- घरका पर्दा कर खोल्दै हटाउँछिन् ।२।

चन्द्रिका – तम च्यातेर दीपैदीप जलाउँछिन्
उषा- ज्योत्स्नासितै आई बल गर्दै उठाउँछिन्
जागृति – जाग्नका लागि छोड आलस्य भन्दछिन्
प्रेरणा- हौसला बोकी काल मौका बताउँछिन् ।३।

पसिना देवता मान भन्दछन्- सिर्जना, कला
चल विवेकमा भन्छन्- प्रज्ञा , आभा र निर्मला
खोल दृष्टि सधैँ भन्छन् – नयना र सुलोचना
खोज मार्ग नयाँ भन्छन् – अर्चना र उपासना ।४।

झरना जलधाराले चर्को प्यास मिटाउँछिन्
धोई मयल ती जम्मै गङ्गा स्वच्छ गराउँछिन्
सम्मान सबको गर्दै बन्न चाहन्छु – निर्जरा
दिलभित्रै बसेकी छन् प्यारी मेरी – बसुन्धरा ! ५।

—————————–
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।