अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

फ्रान्समा पेन्सन योजनाविरुद्ध लाखौँ मानिस सडकमा, बोर्डो टाउन हलमा आगलागी, ८० जना पक्राउ

बिआरटीनेपाल २०७९ चैत १० गते ७:२९ मा प्रकाशित

पेन्सन पाउने उमेर बढाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शन चर्किएका बेला बोर्डो टाउन हलमा आगो लागेको छ । हिजो बेलुका दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो । कसरी आगलागी भयो खुलेको छैन । फ्रान्सका विभिन्न सहरमा गरी १० लाख मानिस सडकमा आएका तथा तीमध्ये एक लाख १९ हजार मानिस राजधानी पेरिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।

पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए । प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन् । सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो । विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि असर परेको बीबीसीले जनाएको छ ।पेरिसमा फोहर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हड्ताल सुरु गरेका थिए र यो आउँदो सोमवारसम्म जारी रहने छ । गएको जनवरीयता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हड्तालसहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन् ।

फ्रान्समा अवकाश पाउने र पेन्सन पाउन सक्ने उमेर बढाउने कानुन बनाउने सरकारको योजनाका कारण समस्या निम्तिएको हो । तर निर्णयको पक्षमा मतदान गर्न संसदमा पर्याप्त समर्थन छैन । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोले यसलाई पारित गर्नु महत्त्वपूर्ण हुने बताउनुभएको छ। त्यस्तै प्रधानमन्त्री एलिजावेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू