अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५८ मा प्रकाशित

उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलार्य उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ ।

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ । दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आज बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो । सोलले आजको प्रक्षेपणलाई गम्भीर उत्तेजना तथा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन भनेको छ ।

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले पनि प्रक्षेपणको निन्दा गरेको छ । जापानले पनि उक्त परीक्षणको निन्दा गरेको छ । टोकियोले बेइजिङस्थि आफ्नो दूतावासमार्फत उत्तर कोरियाको विरोध गरेको जापानका उपरक्षामन्त्री ताशिरो इनोले पत्रकारहरूलाई बताउनुभएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ । देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू