अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

नयाँ बसपार्कमा भएको तोडफोड र लुटपाटको गम्भीर अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७९ फागुन ३ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका सुरक्षा अधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यति ठूलो घटना हुँदा पनि सुरक्षा निकायको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टिसमेत पोख्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाको जतिसक्यो चाँडो अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । लुटपाटको घटनाले समाजमा त्रास सिर्जना गरेको भन्दै उहाँले गल्ती गर्ने जो कोही पनि कारबाहीमा पर्छन् भन्ने सन्देश दिन पनि आग्रह गर्नुभयो ।

जवाफमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले घटनाको अनुसन्धान भइरहेको र केही शङ्कास्पद व्यक्ति पक्राउ परेको समेत जानकारी गराउनुभएको छ । घटना पूर्वानुमान गरेको भन्दा निकै फरक भएकाले सुरक्षा अङ्ग चुकेको पनि उहाँले बताउनुभएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।गएको सोमवार यातायात मजदुरहरूले ट्राफिक नियमका विरुद्ध सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । तर सरकार र यातयात मजदुरबीच ट्राफिक नियमबारे सहमति भइसकेपछि पनि प्रदर्शन उग्र बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरीका भ्यान र प्रहरी बिट जलाउनुको साथै नयाँ बसपार्कमा रहेको ल्होत्से मलका पसलमा लुटपाट गरेका थिए ।

यसैबीच सांसदरूले गएको सोमवार काठमाण्डाैकाे नयाँ बसपार्कमा भएको लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद सूर्य थापाले नयाँ बसपार्क बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाण्डाैकाे मुख्य भागमै भएको घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताउनुभयो । यस्तै सांसद विराजभक्त श्रेष्ठले काठमाण्डाैकाे गोङ्गबु बसपार्कमा भएको लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोङ्गबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शङ्कर भण्डारीले गोङ्गबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

 

 

प्रतिक्रिया