अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

वैदिक परम्परा तथा उपचार विधिको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

बिआरटीनेपाल २०७९ फागुन ३ गते ५:३३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालय पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्धघाटनका लागि दाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले भवनको उद्धघाटन गर्दै सो धारणा राख्नुभएको हो । उहाँले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेका स्मरणसमेत गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्राध्यापक यादवप्रसाद लामिछाने र कुलसचिव माधव अधिकारी र शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले विश्वविद्यालयका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया