अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

सत्ता साझेदार दलहरूबीचको एकता जसरी पनि जोगाउने पक्षमा छु- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:३९ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आज बिहान भएको भेटमा मन्त्रीहरू फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताउनुभएको पनि स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू