अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको पुनः निर्देशन

बिआरटीनेपाल २०७९ पुष १९ गते ४:१३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ । विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिनुभएको हो ।विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् ।

सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो । उनीजस्ता धेरैले विमानस्थलमा यस्ता समस्या भोग्ने गरेका छन् । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको थियो। उहाँको सो निर्देशनपछि पनि भन्सारका कर्मचारीले निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशलाई लिएर प्रयोग गरिरहेको एउटाबाहेक अर्को मोबाइल ल्याएमा भन्सार तिराउनका लागि जफत गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू