अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्छ -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ पुष १५ गते ४:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ। तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । ”तमु समुदायले आर्जन गरेको, उनका पुर्खाहरुले आर्जन गरेको, तमु युवायुवतीहरुले आफ्नो वीरतामार्फत आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं”, प्रचण्डले भन्नुभयो ।

इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभयो । तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभयो ।

समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरेका थिए ।

प्रतिक्रिया