अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:५४ मा प्रकाशित

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भएकाे हाे । क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनालाई विजयी गराउन जुलियन अल्भारेजले दुई गोल गर्दा लियोनल मेस्सीले एक गोल थपेका हुन् । विजयी भएसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्ने सम्भावना बलियो पारेको छ ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकपमा समेत विजयी भएकाे थियो । अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको यो छैटौं पटक हो । अन्तिम पटक सन् २०१४ को विश्वकपमा फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । यसपटक अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीलाई विश्वकपमा विजयी गराएर अवकाश लिने मौका छ ।

साथै मेस्सीलाई यो विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर समेत छ । अहिलेसम्म मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेको ५–५ गोल भएको छ । अल्भारेज र ओलिभर जिरुको नाममा ४–४ गोल भएकाे छ । अर्जेन्टिनाले उपाधि भिडन्तमा फ्रान्स र मोरक्को मध्ये एक टोलीसँग खेल्ने भएकाे छ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति पौने १ बजे अल बायत रंगशालामा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू