अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी

बिआरटीनेपाल २०७९ मंसिर २ गते ५:०८ मा प्रकाशित

बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुई विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युत्‌काे स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू