अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ देखि ११ गतेसम्म ‘क्यालिब्रेसन फ्लाईट हुने

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ४:४० मा प्रकाशित

आगामी जनवरी १ देखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाईट’ (यान्त्रीक परीक्षण) आगामि मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ले मंसिर ११ (२७ नोभेम्बर) सम्म क्यालिब्रेसन फ्लाईटका लागि उडान तालिका स्वीकृत गरेको छ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यान्त्रीक परीक्षणका लागि थाइल्याण्डको एरो थाई कम्पनिको जहाज नेपाल आइसकेको छ। जहाज गत आइतबार ९१३ नोभेम्बर०का दिन काठमाडौं आईसकेको छ । यो जहाज मंसिर १९ ९डिसेम्बर ५० नेपालमै रहने प्रवक्ता भुलले जानकारी दिनुभयो। ‘एकसाता लगाएर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण हुनेछ,’ भुलले भन्नुभयोे, ‘परीक्षण अवधिमा विमानस्थलमा जडान गरिएका सबै उपकरणले काम गरे नगरेको थाहा हुनेछ।’

क्यालिब्रेसन फ्लाइट गर्दा सबै उपकरणले सही रुपमा काम गरेको भन्ने विवरण पछि बल्ल विमानस्थलबाट परीक्षण उडान हुने उहाँले बताउनुभयो । भुलका अनुसार क्यालिब्रेसन फ्लाइटको रिपोर्ट एकसाताभित्र आइपुग्छ। त्यसपछि बल्ल परीक्षण उडान हुन्छ । अहिले क्यालिब्रेसनका लागि विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने रिट्टेपानी डाँडा कटान भईरहेको छ । यो डाँडा १४ मिटर काटिसकेपछि बल्ल क्यालिब्रेसन फ्लाइट हुन्छ। मंसिर ५ सम्म डाँडा कटान भईसक्ने बताईएको छ ।

रिट्टेपानीमा दुइवटा डाँडा छन। ती मध्ये होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गरेपछि मात्र नियमित उडान हुने प्राधिकरणले यसअघि नै बताईसकेको छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि अग्लोतर्फको १४ मिटर मात्र उचाई काटे पुग्छ। प्राधिकरणले एरो थाईको यही जहाजबाट अरु विमानस्थलको पनि नियमित यान्त्रीक परीक्षण गर्नेछ। प्रवक्ता भुलका अनुसार आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाईट रुल्स) उडान हुने अरु विमानस्थलको पनि परीक्षण गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सुर्खेत विमानस्थल, धनगढी, चन्द्रगढी विमानस्थलको पनि नियमित यान्त्रीक परीक्षण हुनेछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण मंसिर ५ गतेदेखि सुरु हुने भएपनि यो जहाज भने मंसिर २ मै पोखरा आउनेछ। पोखरा आएको भोलिपल्ट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारी र प्राविधिकसँग छलफल हुनेछ । दुईदिनसम्म पोखरामा छलफल पछि मंसिर ५ गतेदेखि परीक्षण उडान सुरु हुने गर्ने बताईएको छ । प्राधिकरणले जनवरी १ देखि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी गरिरहेको छ। प्राधिकरणको तालिका अनुसार संचालनमा कुनै अप्ठेरो नआओस भनेर तयारी भईरहेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू