अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश

बिआरटीनेपाल २०७९ असोज ३१ गते ८:०३ मा प्रकाशित

जापानी प्रधानमन्त्री फुमिओ किसिदाले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह ‘युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिनुभएको छ । यसअघि जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई बचाउनका लागि अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानका शिक्षामन्त्री केइको नागाओकाले अनुसन्धान तत्कालै सुरु हुने बताउनुभयो ।

प्राप्त निष्कर्षअनुसार चर्चले जापानमा प्राप्त गर्दै आएको कर छुटको सुविधा गुमाउनेसम्मको सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘फेमिली फेडेरेसन फर वल्र्ड पिस एन्ड युनिफिकेसन’ नामक सो संस्था पूर्वजापानी प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि थप चर्चामा छ ।आबेको हत्या अभियुक्त तेत्सुया यामागामीले आबे युनिफिकेसन चर्चलाई समर्थन गर्ने राजनीतिज्ञ भएकाले नै आफूले हत्या गरेको बयान दिएका छन् । उनले आफ्नो परिवार टाट पल्टिनुमा चर्चको भूमिका रहेको दाबी गर्दै आएका छन् ।

समाचारहरूका अनुसार अभियुक्त यामागामीकी आमाले २ दशकअघि चर्चलाई ठूलो रकम चन्दा दिएको बताइएको छ । दोस्रो विश्वयुद्धपछि जापानको प्रधानमन्त्री बनेका आबेका हजुरबा नोबुसुके किशीले जापानमा युनिफिकेसन चर्च स्थापना गर्न सहयोग गरेका थिए । आबेको हत्यापछि सत्तारुढ लिभरल डेमोक्य्राटिक पार्टी (एलडीपी)का सयौं सांसदहरूको सम्बन्ध उक्त चर्चसँग देखिएको थियो । सो दलको २ सय ५९ सांसदहरूमध्ये आधा सांसदको चर्चसँग सम्बन्ध रहेको बताइएको छ ।

आबेको हत्यापछि सुरु भएको यो विवादले प्रधानमन्त्री किसिदालाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ । सो विवापछि किसिदाको लोकप्रियता घटेको छ । मतदाताहरुले सो चर्चसँगको सम्बन्धलाई स्वीकार गरेको देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू