अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

इरानको एक जेलमा भएको आगलागीमा चार जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ असोज ३० गते ७:२४ मा प्रकाशित

इरानको चर्चित जेल इभिनमा भएको आगलागीमा चार जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका इरानको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा कारागार क्षेत्रबाट धुवाँ र आगोको मुस्लो फैलिएको देखिन्छ । त्यहाँबाट गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको बीबीसीले जनाएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने इभिन जेल कुख्यात जेलका रुपमा चिनिन्छ ।

इरानमा केही हप्तायता सरकारविरोधी प्रदर्शन चलिरहेकाे छ । हिजाव अर्थात अनुहार ढाक्नेगरी कपडा नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी महसा अमिनिको गएको महिना प्रहरी हिरासतमा ज्यान गएपछि प्रदर्शन सुरु भएको हो ।कारागारमा भएको आगलागी यो घटनासँग सम्बन्धित भए वा नभएको खुलेको छैन । प्रदर्शनमा सहभागी सयौँ मानिसहरूलाई यही जेलमा राखिएका कारण हिजाव विरोधी आन्दोलनसँग सम्बन्धित हुन पनि सक्ने खबरमा उल्लेख छ ।

इरानमा सरकारी संचार माध्यमले भने आगलागीको घटना प्रदर्शनसँग सम्बन्धित नभएको र आपराधिक तत्व संलग्न भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । कारागार आसपासको क्षेत्रमा इन्टरनेट सुविधा बन्द गरिएको छ । यस जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानव अधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू