अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल

बिआरटीनेपाल २०७९ असोज १४ गते ५:२५ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताउनुभएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताउनुभयो ।

उहाँले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताउनुभयो । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,-‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात देश बनाउने सपनाहरुको उजागर हो । यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ । यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रस्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु । वास्तवमा हामीलाई त्यस्तै लाग्छ । जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन् । कार्यक्रम छैन, गन्तव्य छैन् । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो । त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ । यही बेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन् । राज्यका अंगहरु कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ । कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरुको अवस्था के छ सबै बुझेका छौँ । विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताउनुभयो। उहाँले अहिले देशको बिद्रुप रुप देखापरिरहेको बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू