अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब आम्दानी : घिसिङ

बिआरटीनेपाल २०७९ भदौ १२ गते ८:०४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गर्नुभएको छ ।आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।उहाँले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताउनुभएको हो । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताउनुभयो ।

घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताउनुभयो । घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताउनुभयो । उहाँले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताउनुभयो । उहाँले विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताउनुभयो । उहाँले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बताउनुभयो । घिसिङले तत्कालको लागि उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गर्नुभयो । उहाँले सरकारले कोभिड लगायतका कारणले छुट दिएको बताउनुभयो । उहाँले अहिलेसम्म करिव ९३ प्रतिशत विद्युतको पहुँच पुगेको बताउनु भयो आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पु¥याउन लक्ष्य सरकारले लिएको उहाँको भनाई छ । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको बताउनुभयो । घिसिङले गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभई घटाएर भएपनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू