अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु

बिआरटीनेपाल २०७९ असार २८ गते ७:५९ मा प्रकाशित

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले  मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर बन्द भएको थियो । आर्थिक सङ्कटका कारण गरिमा २०७५ मङ्सिरदेखि प्रकाशन हुन सकेको थिएन । गरिमाको वर्ष ३९, अङ्क एक, पूर्णाङ्क तीन सय ९७ लाई २०७९ साउन अङ्क मानिएको छ । भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, विस्तार एवम् विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक सङ्कट बेहाेद्रै आएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले गरिमाको साउन अङ्क पुनर्विमोचन गर्नुभयो । विक्रम संवत् १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एसियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो । तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । एक सय १० वर्षको इतिहास बोकेको साझा प्रकाशन आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ । ६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन् । तर संस्था भने व्यावसायको माध्यमविहीन भएको छ ।

पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सीमित गरिएको थियो । देशव्यापी पाठ्यपुस्तक बिक्री, वितरणबाट हुने सीमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई २०६९ पछि पाठ्यपुस्तक बिक्री, वितरणबाट वञ्चित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवीणता प्रमाणपत्र र पछि उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालित कक्षा ११, १२ का अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्री, वितरण गर्दै आएको थियो तर सरकारले २०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो ।

गएकाे महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत मुद्रण र बिक्री, वितरणको व्यवस्था मिलाइएको’ जानकारी दिए पनि अहिलेसम्म मन्त्रालयबाट नै छपाइको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू