अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघ्यो, विदेशी मुद्रा सञ्चिति पनि घट्दो, वैदेशिक लगानी भने बढ्यो

बिआरटीनेपाल २०७९ असार २७ गते ८:४२ मा प्रकाशित

देशमा शोधनान्तर घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले मात्रै घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको जेठमा १४ करोड आठ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यो आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २६ करोड डलरले घाटामा रहेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति पनि घट्दो क्रममा नै रहेको छ । गएको वर्षको जेठ महिनामा १२ अर्ब ४४ करोड डलर रहेकोमा यो वर्षको जेठ महिनामा नाै अर्ब ४५ करोड डलरमा झरेको छ । एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति साढे साच  महिनाको वस्तु आयात, साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

यस्तै चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता पाँच खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ११ महिनामा चालु खाता जम्मा दुई खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो ।  यस्तै ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ७ दशमलव १ प्रतिशतले बढेर १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू