अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

भारत बन्दका कारण आज विभिन्न राज्यहरु प्रभावित

बिआरटीनेपाल २०७९ असार ६ गते ७:२७ मा प्रकाशित

भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोधमा आज (साेमबार) आह्वान गरिएको भारत बन्दका कारण विभिन्न राज्यहरु प्रभावित भएका छन् ।अग्निपथ योजनाको विरोधमा उत्रिएका युवाहरूले आह्वान गरेको बन्दलाई विपक्षी पार्टीहरुले समेत समर्थन गरेका हुन् । उनीहरुले सरकारले अव्यवहारिक सैनिक भर्ति योजना ल्याएको भन्दै त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् । बन्दबाट राजधानी नयाँ दिल्लीलगायतका शहरमा ट्राफिक ब्यवस्था चौपट भएको छ भने रेल वे सञ्चालन पनि प्रभावित भएको छ ।

भारत बन्दका कारण बिहारमा २ सय ५० वटा रेलले आफ्नो सेवा रद्द गरेका छन् । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द गराएका छन् । भारत सरकारले १७ देखि साँढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन वटै सैन्य सेवामा चार वर्षको अल्पकालीन करारमा भर्ति गर्ने योजना ल्याएको हो । सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । युवा जमातको विरोध यसमै रहेको छ ।

सरकारले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीहरुको तर्क रहेको छ । आन्दोलनका क्रममा दर्जनौं रेल तथा सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ । आन्दोलनका कारण कक्षा ९ र ११ को जारी परीक्षा समेत स्थगित गरिएकाे छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ समेत परेका छन् ।

प्रतिक्रिया