अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

उत्तर प्रदेश : सैनिक भर्तीका लागि ल्याइएको योजनाको विरोध गर्ने २ सय ६० जना गिरफ्तार

बिआरटीनेपाल २०७९ असार ४ गते ८:४४ मा प्रकाशित

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजना अग्निपथको विरोध चर्कँदै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिवार पनि युवाहले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । यसैबीच उत्तर प्रदेशमा यस भर्ती योजनाको विरोध गर्ने दुई सय ६० जनालाई गिरफ्तार गरिएको राज्य प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले बताएको बीबीसी हिन्दीले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै बलिया जिल्लामा एक सय नौ जनालाई गिरफ्तार गरिएको छ । त्यस्तै मथुरामा ७०, अलीगढमा ३०, वाराणसीमा २७ र गौतम बुद्ध नगरमा १५ जनालाई गिरफ्तार गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

यस योजनाको विरोध उत्तर प्रदेशमा मात्रै नभएर बिहार, झारखन्ड र राजस्थानमा पनि भइरहेको छ । विरोधकै क्रममा बिहारमा नौ वटा रेलमा आगजनी भएको छ भने एक जना यात्रुको ज्यान गएको छ ।

यसैबीच अग्निपथ योजनाको विरोधमा चलिरहेको प्रदर्शन शान्त गर्नका लागि केन्द्रीय गृह मन्त्रालयले केही महत्त्वपूर्ण घोषणा गरेको छ । जसअनुसार असम राइफल्ससहित सबै अर्धसैनिक बल (केन्द्रीय सशस्त्र प्रहरी बल) मा हुने भर्तीमा १० प्रतिशत सिट अग्निपथ योजनाअनुसार चार वर्षको सेवा पूरा गर्ने अग्निवीर सैनिकका लागि सुरक्षित हुनेछ ।

यस्तै गृह मन्त्रालयले यी बलमा भर्तीका लागि पहिले नै तय भएको उमेरको सीममा अग्निवीरहरूका लागि तीन वर्षको छुट दिने घोषणा गरेको छ । यद्यपि अग्निपथ योजनाको पहिलो ब्याचका लागि उमेर छुटको यो सीमा पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू