अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

प्यारा सन्ततिहरू

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ असार १ गते २१:४५ मा प्रकाशित

चलन यस्तै छ
प्वाँख पलाएपछि
चराका बचेराहरूले गुँड छोड्छन्
मान्छेका सन्तानहरूले पनि
पाइला लागेपछि घर छोड्छन्
चित्त जसरी पनि बुझाउनै पर्छ
हाम्रा पनि त
छोराहरू – बुहारीका साथमा
अनि
छोरीहरू -जुवाइँका साथमा
कतै रमाएर बसेकै होलान् !
जहाँ भए पनि
सबैको राम्रो होस् !

यो सुनसान घरमा
साँझको बत्ती
हामी बूढाबूढी नै बालिदिउँला
सन्ततिहरू हो !
तिमीहरूका सम्झनाले
रुनुपरे हामी नै रोइदिउँला !

आँगन नै परदेश हुँदै गएका
डाँडाका घाम जूनजस्ता हामीलाई
अब धेरै के चाहिन्छ र ?
अलिकति जाउलो
अलिकति लिटो
चिसो/ तातो पानीको
एकदुई घुट्को
सके निलौँला
नसके उसै लत्रिदिउँला
दम,मुटु र अरू पनि
के के का रोगहरू
हाम्रा साथी छँदै छन्
सके उठौँला नसके
मुडोझैँ कतै ढलौँला !

प्यारा सन्ततिहरू !
हाम्रो सास फुस्स गएको
केही गरी थाहा पायौ भने
तिमीहरू –
देश/ परदेश जहाँ भए पनि
हाम्रो लासमा
फूलमाला र अबिर चढाउन भने
अवश्य आइदिनू !
कुरा काट्नेहरू धेरै हुन सक्छन्
लोकाचार बुझाउन भने पनि
तिमीहरूले हाम्रो लासमा
एकछिन् घोप्टिएर
एक थोपा नै किन नहोस्
आँसु चुहाइदिनू !

भोलि कतै तिम्रा सन्ततिहरूले
वंशको पुरानो लहरो
रहर गरी बुझ्न चाहे भने
काम लाग्न सक्छ !
चिर निद्राको हाम्रो धमिलो तस्बिर
तिम्रा सुकिला भित्तामा
झुन्ड्याउन पनि नबिर्सनू !

हामीले सकी नसकी कुरिदिएको
बाँकी चल/ अचल सम्पत्ति जे छ
सबैले भाग मिलाएर खाइदिनू !
तेरो- मेरो गरी कसैले
दन्तबझान गर्दै
पाखुरा सुर्किएर
बढी खान चाहिँ नखोजिदिनू !

यति तिमीहरूले गरिदिए
हाम्रो आत्मामा
अवश्य शान्ति मिल्छ !

प्यारा सन्ततिहरू !
संसारमा नाम चलाउनू !
तिमीहरू हाँसेरै रमाउनू !
आँखा चिम्लिनुअघि
हाम्रो तिमीहरूलाई
यही शुभकामना र आशीर्वाद छ !!

—————–
गोरखा, लप्सीबोट ; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।