अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

गठबन्धन संघीय चुनावसम्म यथावत् : माधव नेपाल

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:५५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा चुनावसम्म कायम रहने बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सिरमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुने भन्दै त्यतिबेलासम्म गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताउनुभएको हो । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनलाई भत्काउने प्रयत्नहरू भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो  । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धनको भविष्य छैन भन्ने कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउँदाे चुनावसम्म वा चुनावपछिकाे अवस्थासम्म लिएर जान चाहन्छौँ । हामी इमानदारिताका साथ चल्छौँ । तर कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छाैँ ।’अध्यक्ष नेपालले गठबन्धन गरेर पालिका चुनावमा जाँदा आफूहरूले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयरमा सफलता हासिल गरेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूले सकेसम्म राम्रो काम गरेकाले उनीहरूलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो । उहाँले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरूलाई आउँदा दिनमा सम्मान गर्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू