अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

म्यानचेस्टर सिटीद्वारा रियल मड्रिड पराजित

बिआरटीनेपाल २०७९ वैशाख १४ गते ७:३१ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ ।सिटीको मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले रियललाई ४–३ ले पराजित गरेको हो ।निकै प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायन, ग्याब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ११ औं मिनेटमा जिससले गोल गर्दै दोब्बर अग्रता दिलाए । ३३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए ।५३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । लगत्तै ५५ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–२ को स्थितिमा ल्याए । ७४ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ४-२ को अग्रता बनायो । त्यसपछि ८२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-३ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन नसकेपछि सिटी ४–३ ले विजयी भयो ।

यो जितसँगै सिटीले दोस्रो लेगको खेलपूर्व झिनो अग्रता लिएको छ । दोस्रो लेगको खेल अर्को हप्ता रियाल मड्रिडको मैदानमा हुनेछ । च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज बुधबार राति इंग्लिस क्लब लिभरपुल र स्पेनको भियारियल भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू